Home » » कांग्रेसको केन्द्रीय समितिले अझै पूर्णता पाएन

कांग्रेसको केन्द्रीय समितिले अझै पूर्णता पाएन

Written By Unknown on Monday, August 12, 2013 | 1:54 AM


२८ साउन, काठमाडौं । पार्टीको विधानबमोजिम दुई महिनामा पूर्ण बनाइनुपर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महाधिवेशन सकिएको ३ वर्ष बित्न लाग्दा पनि पूर्णता पाएको छैन । खाली रहेका सहमहामन्त्री र ५ केन्द्रीय सदस्यमा कांग्रेसभित्र दौडधूप शुरु भएको छ । निर्वाचनका लागि उमेद्वार छान्ने संसदीय समितिले समेत अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

नेपाली कांग्रेसमा सहमहामन्त्री पदसमेत खाली छ । कष्णप्रसाद सिटौलालाई महामन्त्री मनोनित गर्नेबेलामा एकजना सहमहामन्त्री देउवा पक्षलाई दिने आन्तरिक सहमति भएको देउवा पक्षका नेताहरुको दाबी छ । तर, सहमहामन्त्रीको दाबी गर्ने देउवा पक्षका नेताहरु पनि धेरैजना छन्् । देउवा पक्षका प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँड र रमेशप्रसाद रिजालले सहमहामन्त्रीको दाबी गरेका कारण देउवाले सहमहामन्त्रीको नाम सिफारिस गर्न अहिलेसम्म नसकेको कांग्रेस स्रोत बताउँछ ।

त्यस्तै केन्द्रीय कार्यसमितिमा एक दलितसहित ५ सीट खाली छन् । विधानबमोजिम महाधिवेशनपछि मनोनयन गर्न बाँकी रहेका ४ र भीमबहादुर तामाङको निधनपछि खाली रहेको समेत गरी पाँच केन्द्रीय सदस्यहरु मनोनयन गर्न बाँकी रहेको हो । यी पाँचवटा सीटमा करिब ५० जना आकांक्षी रहेको एक कांगे्रस नेताले अनलाइनखबरलाई बताए ।

कांग्रेस स्रोतका अनुसार शेरबहादुर देउवाले आरजु राणालाई केन्द्रीय सदस्य बनाउने तयारी गर्नुभएको छ भने राष्ट्रपति डा. रामवरण यादवले आफ्नी भतिजी किरण यादवलाई केन्द्रीय सदस्य बनाउने चाहना सुशील कोइरालासमक्ष व्यक्त गर्नुभएको स्रोत बताउँछ । उता मकवानपुर निवासी नेतृ रीता खनालले पनि केन्द्रीय सदस्यका लागि कोइरालालाई भनिदिन राष्ट्रपतिलाई भेटेर आग्रह गरेको कांग्रेस स्रोतले बतायो ।

खल्लातफृका केन्द्रीय सदस्यमा बलदेव शर्मा मजगैयाँ, शोभाकर पराजुली, पुरुषोत्तम बस्नेत, रमेश लेखकसमेतको नाम चर्चामा आएको छ । उता पूर्वकम्युनिष्ट नेता आनन्दसन्तोषी राईले समेत रामचन्द्र पौडेलसमक्ष आफूलाई केन्द्रीय सदस्य बनाउन लविङ गरिरहेको बुझिएको छ ।

चुनावअघि नै केन्द्रीय समितिलाई पूर्णता दिँदा असन्तुष्टहरुले चुनावको मुखमा किचलो गर्ने डर भएकाले चुनावपछिमात्रै समितिले पूर्णता पाउने सम्भावना रहेको कांग्रेस नेताको विश्लेषण छ । तर, केन्द्रीय समितिलाई चुनावसम्म खाली राखे पनि उमेद्वार छनौटका लागि बनाइनु पर्ने संसदीय समितिलाई भने पूर्णता दिनैपर्ने बाध्यता सभापति कोइरालासँग छ । पदाधिकारीहरु पदेन सदस्य रहने संसदीय समितिमा आफ्नो पकड बलियो बनाउन कोइराला, देउवा र रामचन्द्र पौडेलवीच निकै ठूलो हानाथाप छ ।

निर्वाचन आयोगले उमेद्वार दर्तालगायतको चुनावी कार्यक्रम सार्वजनिक गरिसकेको अवस्थामा कांग्रेसले संसदीय समितिलाई पूर्णता दिन हतारो भैसकेको छ । यद्यपि अहिलेसम्म कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने सुरसार देखिएको छैन । पौडेल उपचारका लागि दिल्ली गएका कारण कांग्रेसको बैठक तत्काल बसिहाल्ने अवस्था छैन ।via:onlinekhabar.com
Share this article :

Post a Comment